Home राजनीति विवेकशील साझा वैकल्पिक शक्ति बन्ने बाटोमा चुक्दै !

विवेकशील साझा वैकल्पिक शक्ति बन्ने बाटोमा चुक्दै !

by admin

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले बिहीबार बोलाएको केन्द्रीय कमिटी बैठकले ‘मार्ग परिवर्तन’ दस्तावेजलाई स्वीकृत गरेपछि संयोजक मिलन पाण्डेको प्रतिक्रिया थियो, ‘रवीन्द्र मिश्रले दोस्रो पटक पार्टी फुटाए, अब निर्वाचन आयोगमै भेट हुनेछ ।’

तर शुक्रबार संयोजक पाण्डे पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय हेर्ने हो भने विवेकशील साझा पार्टी तत्काल ‘फुट्न पनि नसक्ने, जुट्न पनि नसक्ने’ परिस्थितिमा देखिएको छ । किनकी दुबै पक्ष निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै जान तयार देखिँदैन । समानान्तर गतिविधि भने बढ्ने देखिन्छ ।

शुक्रबार मात्र पाण्डे पक्षको केन्द्रीय कमिटी बैठकले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने प्रस्तावसहित अध्यक्ष मिश्रको दस्तावेजलाई अस्वीकृत गर्ने निर्णय गरेको छ । र, वैकल्पिक राजनीतिको मुल बाटो शीर्षकको दस्तावेजलाई स्वीकृत गरेको छ ।

पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टका अनुसार अनुशासन उल्लंघनको विषयमा छानविन गर्न पार्टी विधानको दफा २९.२ बमोजिम आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय पनि भएको छ ।

बिहीबार अध्यक्ष मिश्र पक्षको बैठकले संयोजक पाण्डेको भूमिका खोसेर अध्यक्षलाई कार्यकारी भूमिका दिएको थियो । त्यही सन्दर्भमा पाण्डे पक्षले आयोग बनाएर मिश्रहरुलाई कारबाही गर्न खोजेको एक नेता बताउँछन् ।

पाण्डे पक्षको बैठकले विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ । यसको अर्थ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र तत्कालीन वरिष्ठ नेता माधव नेपालबीच विवाद हुँदा केन्द्रदेखि स्थानीय तहसम्म समानन्तर कमिटी बनाएझैँ समितिहरु बन्नेछन् ।

प्रवक्ता भट्ट भन्छन्, ‘अभियान सञ्चालन गर्न केन्द्रमा पार्टी संयोजकको संयोजकत्वमा सम्पूर्ण केन्द्रीय सदस्यहरुसहित २०१ सदस्यीय अभियान परिचालन केन्द्रीय समिति, प्रदेशमा ५१ सदस्यीय अभियान परिचालन प्रदेश समिति, जिल्ला र नगरमा २५ सदस्यीय अभियान परिचालन समितिहरु निर्माण गर्ने निर्णय भएको छ ।’

एमालेभित्रको विवादमा माधव नेपालले राष्ट्रिय सम्मेलन गरेजस्तै पाण्डे पक्षले पनि राष्ट्रिय सम्मेलन गर्ने तयारी पनि गरेको छ । मिश्र पक्षले पार्टीलाई ‘तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रुपमा अघि बढ्ने’ निर्णय गरेको छ ।

के यहि पाराले विवेकशील साझाको वैकल्पिक राजनैतिक शक्ति बन्ने सपना पूरा होला त ?

Related Articles

Leave a Comment